Saturday 14 September 2019

 

असुरोको औषधीय गुणहरू ||Life with herbs||


असुरो - परिचय
असुरो नेपालमा १२०० मिटर सम्मको उचाइमा विशेष गरेर बाटो, बन जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउहरुमा पाइन्छ । असुरोको बुटा प्राय: १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको टुप्पा चोसो
परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ।
   असुरो सजिलै पाइने जडीबुटी हो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ। असुरो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। जस्तै श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्न, असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा
पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ। त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।
असुरोको औषधीय गुणहरू
रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत आउने, रक्त बिकार, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा र सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएमा यसको पातबाट काढा पकाएर सेवन गरिन्छ। चर्मरोगमा पातको लेदो दलिन्छ। शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ। साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ।
नोट : तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

Share:

0 comments:

Post a Comment